सबै तरिकाले हेर्दाखेरि आँखा तथा आँखाका भागहरू सद्दे देखिने अथवा एनाटोमिकल्ली तथा प्याथोलोजिकल्ली सामान्य अवस्था देखीए पनि आँखाको दृष्टिशक्ति कमजोर हुनुलाई अल्छी आँखा भनिन्छ। यस्तो आँखालाई जाँच गराउँदा सद्दे आँखाजस्तै देखिन्छ, अझ भन्नुपर्दा न त डाक्टरले आँखामा केही खराबी देख्छ न त विरामीले राम्रो सँग देख्दछ। धेरैजसो मानिसमा एउटा आँखामा मात्र देखिने यो समस्या कुनै-कुनै अवस्थामा भने दुईवटै आँखामा पनि पाइन्छ । करिब २-२.५ प्रतिशत मानिसहरू यो समस्ययाले पीडित हुन्छन् । सामान्यतया अल्छी आँखा अन्धो नै भने हुँदैन। फेरि अर्को आँखा सद्दे, राम्रो देख्ने हुनाले धेरै मानिसले त थाहा पनि पाएका हुँदैनन्। आँखाको अल्छीपना पनि फरक-फरक मात्राको हुनसक्छ। कसैको आँखा अलिअलि मात्र अल्छी भएको हुन्छ त कसैको निकै बढी । दुई आँखाको दृष्टिमा समानता नभए कम देख्ने आँखालाई अल्छी मान्ने चलन पनि छ। अल्छी आँखामा पावरको चस्मा चाहिने त हुन सक्छ नै तर चस्मा लगाए मात्र पनि दृष्टिमा पूर्ण सुधार भने हुँदैन ।
जसरी एउटा मान्छे केही समय काम नगरी बस्यो भने पछि उसलाई काम गर्न मन लाग्दैन अनि पछि काम गर्न पनि नसक्ने हुन्छ, त्यस्तै आँखाले पनि कुनै कारणबस हेर्न पाएन भने वा देख्न पाएन भने पछि देख्नै नसक्ने हुन्छ, अल्छी बन्छ। अझ दुईवटा आँखामा एउटाले मात्र काम गरेछ भने त झन अर्को आँखाले अल्छी बन्ने चान्स बढी पाउँछ । हुन त यस्तो अवस्था उमेरको सबै भागमा समान रहँदैन तर पनि हामीहरूले दुवै आँखालाई उत्तिकै काम गर्ने मौका दिनुपर्दछ ।
आँखाको दृष्टिशक्ति बच्चा जन्मदा नै पूर्णरूपले विकास भइसकेको हुँदैन । जन्मनेबित्तिकैको नानीले बल्लतल्ल आफ्नो आमाको धमिलो अनुहार देख्न सक्छ वा बत्ती देख्न सक्छ। आँखाको आकार-प्रकारजस्तै दृष्टिशक्तिमा पनि विकास हुँदै जान्छ। जन्मेको २-३ वर्षसम्म दृष्टिमा द्रुतगतिले विकास भएको हुन्छ भनिन्छ यो अवस्थामा हेराइमा केही घण्टा मात्र पनि अवरोध भयो भने दृष्टिलाई असर पार्छ। तर पनि दृष्टिशक्तिको विकास भने ८-९ वर्षसम्म पनि भइरहेको हुन्छ सुस्त गतिमा। यसरी एउटा मान्छेले उसको पूर्ण दृष्टि पाउन ८-९ वर्ष कुर्नुपर्दछ। राम्रोसँग दृष्टि विकास हुन यो समयमा कुनै पनि बाधाअड्चनहरू आउनु हुँदैन । यो अवस्थामा यदि कुनै बाधा व्यवधानहरू आएमा दृष्टि विकासमा मात्र अवरोध हुने होइन विकास भइसकेको दृष्टिशक्ति पनि क्रमिक रूपमा ह्रास हुँदै जान्छ। जस्तो गतिमा दृष्टि विकास हुनुपर्ने हो ह्रास हुने गति पनि उस्तै हुन्छ । दृष्टि विकासमा आइपर्ने मुख्य अवरोधमध्ये एक हो – धमिलो दृष्टि (Blurred Vision). यदि बच्चाको आँखाको दृष्टि उमेरअनुसार नभइकन धमिलो छ भने आँखा अल्छी बन्ने सम्भावना हुन्छ। अझ एक आँखाको राम्रो तर अर्को आँखाको दृष्टि धमिलो छ भने त त्यो आँखा अल्छी बन्ने सम्भावना अधिक हुन्छ । यो समयमा बच्चाको दृष्टि धमिलो पार्ने प्रमुख कारण हो दृष्टि कमजोरी। दृष्टि कमजोरीमध्ये पनि दूरदृष्टिको समस्या बढी डरलाग्दो हुन्छ । दृष्टि धमिलो पारिदिने समस्याहरूमा जन्मजात मोतिबिन्दु, जलबिन्दु आदि पर्दछन्। त्यस्तै दृष्टि विकासमा आइपर्ने दोस्रो अवरोध हो दुई आँखाले मिलेर सँगसँगै काम गर्न नसक्ने । विभिन्न कारणहरूले गर्दा दुईवटा आँखाले सँगसँगै मिलेर काम गर्न अप्ठ्यारो भयो भने मानिसमा टाउको दुख्ने, रिंगटा लाग्ने, स्मरण शक्ति घट्ने आदि हुन्छ जसलाई सजिलो पार्न ब्रेनले नै एउटा आँखालाई छाडेर वा सप्रेस गरेर अर्को आँखाले मात्र काम गर्छ। पछि परेको आँखाले बिस्तारै काम गर्न छाडेर पछि अल्छी बनिदिन्छ। आँखा बांगो भएमा, दुईवटा आँखाको पावर फरक-फरक भएमा पनि दुईवटा आँखाले मिलेर सँगै काम गर्न सक्दैनन् ।
दृष्टि फर्कन सक्ने (Reversible) तथा दृष्टि फर्कन नसक्ने ( Irreversible) गरी अल्छी आँखा दुई प्रकारका हुन्छन् । Reversible वा Functional Amblyopia मा पनि जहिले पायो तहिले दृष्टि फर्काउन सम्भव हुँदैन, केवल समयमा नै उपचार भयो भने मात्र । त्यस्तै अल्छी आँखाको दृष्टि हासको मात्रालाई हेरेर विभिन्न दृष्टि विशेषज्ञहरूले विभिन्न ग्रेडमा विभाजन गरेको पाइन्छ। योभन्दा पनि आँखा अल्छी बनाउने कारणको आधारमा गरिएको विभाजन बढी प्रचलित छ जसअनुसार Strabismic, Anisometropic, Amblyopic तथा Stimules Deprivation Amblyopia गरी चार प्रकारका हुन्छन्। एउटा आँखा टेडो/बांगो भयो भने बिस्तारै त्यसले काम गर्न छाड्दछ। यसरी बनेको अल्छी आँखालाई Strabismic Amblyopia भनिन्छ। त्यसरी नै Anisometropic Amblyopia मा दुई आँखाको चस्माको पावर फरक-फरक हुन्छ तर Ammetropic Amblyopia भने धेरै दृष्टि कमजोरीको कारणले अल्छी बन्छ। त्यति मात्र होइन, कहिलेकाहीं मोतिबिन्दुजस्ता रोगहरूका कारण आँखामा प्रकाश छिर्ने बाटो नै रोकिएर पनि आँखा अल्छी बन्न सक्छ जसलाई Stimules Deprivation Amblyopia भनिन्छ। यी चारै प्रकारका अल्छी आँखा Functional Amblyopia अन्तर्गत पर्दछ। Organic Amblyopia वा Irreversible Amblyopia चाहिँ विभिन्न विषादीहरूले सीधै दिमागको दृष्टि सेलहरूमा असर पुयाउँदा हुन्छ।
अल्छी आँखा बच्चावेलामा नै लाग्ने रोग हो । बच्चाहरू आफ्ना समस्याहरू राख्न नसक्ने हुँदा यो रोगलाई सजिलै थाहा पाउन सकिँदैन । अझ धेरैजसोमा एउटा आँखा अल्छी भए पनि अर्को आँखा सद्दे नै हुने हुँदा उनीहरूमा त के ठूलो मान्छेलाई पनि आफूमा भएको दृष्टिहासको पत्तो नै हुँदैन। अतः बच्चाहरूको चालचलन, आल ढाल आदि हेरेर आँखा कमजोरीको शंका लाग्नासाथ दृष्टि विशेषज्ञलाई देखाइहाल्नुपर्दछ। कतिपय अवस्थामा थाहा नै नहुने हुँदा ठीक देखिएका बच्चाहरूलाई पनि स्कुल भर्ना गर्नुपूर्व एकपटक आँखा जाँच गराउनुपर्दछ। निम्न लक्षणहरूले बच्चामा अल्छी आँखाको सम्भावना बुझाउँछन् ।
- नजिकैको खेलौना वा बाबुआमालाई पनि नदेखेर रुनु, भित्तामा ठोकिनु ।
- गृहकार्य गर्न धेरै समय लगाउनु, पढाइमा कमजोरी हुनु ।
- खेल्न, टेलिभिजन हेर्न मन नलाग्नु
- आँखा बांगो हुनु
- टेलिभिजन तथा किताब नजिकै राखेर हेर्नु
- टाउको कोल्टो पार्नु
- आँखा चिम्लिएजस्तो गरेर हेर्नु
- आँखाको कालो भागमा सेतो देखिनु
- परेलाले आँखालाई ढाक्नु
यी त भए अल्छी आँखा भएका मान्छेमा दखिन सक्ने लक्षणहरू। त्यस्तै याद गर्ने नै हो भने अल्छी आँखामा पनि विभिन्न लक्षणहरू देखिन्छन् । पहिलो त अल्छी आँखाको दृष्टि कम हुन्छ र अर्को आँखाभन्दा धमिलो देख्दछ। त्यस्तै अल्छी आँखाले बढी उज्यालो भएको ठाउँमा भन्दा ठिक्क उज्यालोमा राम्रो देख्दछन् ।
अल्छी आँखा धेरैजसो एउटा मात्र हुने वा अर्को आँखाले राम्रो देख्ने हुँदा एक्कासि अन्धो त बनाउँदैन । तर पनि कुनै कारणबस अर्को आँखामा चोटपटक लागेर तथा रोग लागेर नदेख्ने भयो भने त पूरा अन्धो भइहालिन्छ। यसरी अन्धा बनेका मान्छेहरू पनि संसारमा लाखौँ छन्। अनि अर्को समस्या हो कानो। एउटा मात्र आँखाले काम गर्ने हुँदा यस्ता मानिसहरूले गहिराइ, दूरी तथा गति ठीकसँग पहिचान गर्न सक्दैनन् किन भने यीनीहरुमा Stereoscopic Vision हुदैन ।
विश्वका करिब ४ करोड ५० लाख अन्धा मान्छेहरूमध्ये करिब १ प्रतिशत अल्छी आँखाको कारण अन्धा बनेर बस्नुपरेको छ। तर पनि अल्छी आँखाको उपचार नै नहुने भन्नेचाहिँ होइन । समयमा नै उपचार भयो भने अल्छी आँखाको उपचार सम्भव छ। यसको उपचार जति छिटो, कम उमेरमा गर्न सकियो त्यति नै छिटो र राम्रो हुन्छ भने करिब १२-१३ वर्षपछि यसको उपचार प्रायः नगन्य नै हुन्छ। अतः ३-४ वर्षको उमेरभित्र आँखा अल्छी बन्ने चान्स जति बढी हुन्छ त्यो समयमा उपचार भएमा दृष्टि फर्कने चान्स तथा सफलता त्यत्तिकै अधिक हुन्छ। समयमा नै उपचार भएन भने पछि चस्माको प्रयोग, औषधि तथा अपरेसन नै गरे पनि दृष्टि फर्कदैन ।
सर्वप्रथम आँखा अल्छी बन्नुको कारण छुट्याइन्छ। यदि मोतिबिन्दु भएर आँखा अल्छी बनेको छ भने तत्काल अपरेसन गरिन्छ भने दृष्टि कमजोर छ भने अवस्थाअनुसार पूर्ण पावरको चस्मा, कन्ट्याक्ट लेन्स लगाउनुपर्दछ। त्यसपछि सामान्य तथा राम्रो आँखालाई छोपेर अल्छी आँखाले मात्र हेराउने गरिन्छ । कति समय आँखा छोप्ने, कसरी छोप्ने भन्ने कुरा अल्छी आँखाको गहिराइ तथा दृष्टि विशेषज्ञअनुसार फरक-फरक हुन्छ । त्यसपछि आँखाका व्यायामहरू गराइन्छ । कुनै व्यायामहरू साधारण हुन्छन् त कुनै जटिल, त्यस्तै कुनै व्यायाम घरमा गरे पनि हुने हुन्छन् त कुनै विशेषज्ञको प्रत्यक्ष निगरानीमा अफिसमा गर्नुपर्ने हुन्छन् ।
एकपटकं दृष्टि फर्किसकेपछि पनि हेलचेक्र्याइँले पुनः आँखा अल्छी बन्न सक्छ। यसको लागि Maintainance Therapy पनि गरिराख्नुपर्छ भने नियमित रूपमा विशेषज्ञलाई पनि देखाइराख्नुपर्दछ ।
बच्चाले बाक्लो, धेरै पावर भएको चस्मा लगाउन गाह्रो मान्ने हुनसक्छन् । यसैले अभिभावकले राम्रोसँग सम्झाउनुपर्दछ । यसो हुनाले अल्छी आँखाको उपचारको सफलतामा बिरामी बच्चा, अभिमावक र दृष्टि विषेशज्ञ तीनपक्षकै उत्तिकै जिम्मेवारी देखिन्छ ।