उच्च रक्तचाप (High Blood Pressure) उमेर बढ्दै गएपछि ती मानिसहरूमा अधिक पाइन्छ, जो मानसिक तनाव, मोटोपन, व्यायामको कमी, सिगरेट-रक्सिको अत्यधिक सेवन, पूरै निद्रा नलिने, भोजनमा नुनको अधिकताको शिकार छन् र जसका मातापितालाई उच्च रक्तचाप छ ।
उच्च रक्तचाप ती मानिसहरूलाई पनि अधिक हुन्छ, जो ईर्ष्यालु, शंकालु, मानिसहरूलाई घृणा भाव राख्ने, अरूहरूलाई नोक्सान पुऱ्याउने बारेमा सोच्ने, गलत काम गर्ने र आफ्नो शक्ति र सामर्थ्यभन्दा ठूला कामहरू गरेर धेरै धन अर्जित गर्ने चाहना राख्ने खालका हुन्छन् ।
मृगौलाको रोग या केही अन्य कारणहरू बाट पनि उच्च रक्तचाप हुन्छ । गर्भवती महिलाहरू मध्ये कसै-कसैलाई गर्भको आठौं – नवौं महिनामा रक्तचाप बढ्न थाल्छ, त्यसैले यी दिनहरूमा हर सप्ताह डाक्टरी जाँचको सल्लाह दिइन्छ
यदि महिलाको उचित हेरविचार भएन र रक्तचाप बढिरहेको छ भने त्यो स्त्रीको गर्भको विषाक्तता (Eclampsia) को रोग लाग्छ, जुन रोग लागेपछि रोगीलाई झट्का (Convulsion) लाग्न थाल्छ, जसबाट आमा- बच्चा दुवैलाई खतरा हुनसक्छ ।
धेरैजसो मानिसहरूलाई शुरूमा कुनै पीडा हुँदैन र तिनीहरूको रक्तचाप बिस्तारै बिस्तारै बढिरहन्छ । रक्तचाप धेरै बढेपछि हर्ट-अट्याक हुने, पेरलाइसिस हुने या यिनीहरूबाट मानिस मर्ने खतरा बढ्छ । त्यसैले उच्च रक्तचापलाई मौन मार्ने रोग (Silent Killer) को संज्ञा दिइएको छ ।
कहिलेकाहीं मानिसहरूको टाउको दुख्ने, श्वास चाँडो-चाँडो चल्ने र समस्या जस्ता लक्षणहरू देखिन्छन् । शंका लागेपछि जाँच गराउनु पर्छ र चालीस वर्षको उमेरपछि त प्रतिवर्ष रक्तचापको जाँच जरूरी हुन्छ ।
आँखामाथि उच्च रक्तचापको असर रगतका नसाहरूमा भएको हानिकारक परिवर्तनहरूको कारणले हुन्छ । रक्तचाप १५०/१०० भन्दा अधिक बढ्दै जाँदा यस्तो हुन्छ ।
दृष्टि पटललाई जाँच्ने विशेष यन्त्र आपथेलमस्कोप (Opthalmoscope) बाट रगतका नसाहरूमा भएका परिवर्तनहरू र दृष्टि पटललाई हेरेर डाक्टरहरू यो रोगलाई चिनेर यसको तीव्रता र खतरालाई बुझेर सल्लाह दिन्छन् र उपचार गर्छन् । शुरूमा रगतका राता धमनिहरू खुम्चिएका देखिन्छन्, त्यसपछि तिनीहरूले अरू धमनिहरूलाई थिचेको देखिन्छ ।
रक्तचाप अझै बढेपछि यी रगतका नसाहरू जम्न थाल्छन् र दृष्टिपटलमा रगतका धब्बाहरू र सेतो दाग देखिन थाल्छन्।
रक्तचाप धेरै बढेपछि प्रकाश नाडीको भाग (Optic disc) सुन्निएको देखिन्छ, जसलाई पेपिलिडीमा (Papilledema) भनिन्छ । आँखामा जमेको रगत, सेतो दाग र पेपिलिडीमा देखेर गर्भवती महिलामा भएको ‘एकलेन्पसिया’ (Eclampsia) को गम्भीरता बुझेर तुरुन्तै उपचार गरिन्छ र डेलिभरी गराइन्छ ।