आँखाको लेन्स (Lens) मा आएको सेतोपनलाई मोतिविन्दु (Cataract) भनिन्छ । हाम्रो आँखाको लेन्स शीशा भन्दा पनि सफा र पारदर्शी हुन्छ । उमेर बढ्नुको साथ-साथै आँखामा सेतो आउन थाल्छ । जब यो सेतोपन धेरै बढ्छ, तब यसलाई मोतिबिन्दु (Cataract) भनिन्छ ।
वस्तुबाट प्रकाश किरणहरू आँखाको सफा लेन्सबाट गुजिन्छन् र दृष्टि पटलमा केन्द्रित हुन्छन् । जसबाट वस्तु स्पष्ट देखिन्छन् ।
मोतिबिन्दुबाट प्रभावित लेन्सले प्रकाश किरणहरू गुजिनमा बाधा पार्छन्, जसबाट दृष्टिपटलमा वस्तुको छवि बन्न पाउँदैन ।
यसबाट शुरूमा दृष्टि धमिलो हुन्छ र मोति पूरै लेन्समा फैलिएपछि केही पनि देखिँदैन ।
प्रकृतिको कस्तो चमत्कार छ भने अक्सर पहिले एक आँखामा मोतिबिन्दु हुन्छ, त्यसपछि दोस्रो आँखामा, ताकि व्यक्तिले एक आँखाबाट काम चलाओस् । त्यसैले समयभन्दा पहिले नै एक आँखाको अपरेशन गराउनु पर्छ ।
यदि समयमै अपरेशन गरिएन भने दुवै आँखामा मोतिबिन्दुको सेतोपन पूर फैलिन्छ र केही पनि देखिँदैन, त्यसपछि व्यक्ति अन्धो समान हुन्छ । मोतिबिन्दुको अपरेशन गरेर आँखाको लेन्स निकालिसकेपछि भित्र प्लास्टिक लेन्स लगाएर या बाक्लो चश्मा लगाएर फेरि देख्न सकिन्छ ।
बढ्दो उमेरसँगै हुने मोतिबिन्दु
आँखाको लेन्समा अक्सर सानो सेतो धब्बा त चालीस वर्षको उमेरमा देखिन थाल्छ, तर नेत्र चिकित्सकहरू यसलाई तबसम्म मोतिबिन्दु भन्दैनन्, जबसम्म यो सेतो धब्बा बढेर आँखाको दृष्टिलाई धमिलो पार्दैन । किनभने कैयौं मानिसहरूमा यो सेतो धब्बा वर्षैपिच्छे बढ्दैन र मनुष्यको दृष्टि सामान्य रहन्छ या चश्माबाट उसको काम चल्छ ।
यदि कुनै डाक्टरले लेन्समा पाइएका यी सेता धब्बाहरूलाई मोतिबिन्दु भन्छ भने त्यो व्यक्ति चिन्तामा पर्छ र अपरेशन तथा अन्धोपनको डरले चिन्तित हुनथाल्छ । त्यसैले सही डाक्टरी सल्लाह आवश्यक छ । कहिलेकाहीं त ८०-८५ वर्षको उमेरसम्म पनि मानिसहरूको मोतिबिन्दु बढ्दैन र उनीहरू सबै काम आफैं गर्छन् । जबकि धेरैजसो मानिसहरूले पचास र पैसठी वर्षको उमेरको बीचमा अपरेशन गर्नुपर्छ
लक्षण
१. मोतिबिन्दुले दृष्टिलाई बिस्तारै बिस्तारै धमिलो बनाइदिन्छ । टाढा र नजिक दुवै दृष्टि कम हुन थाल्छ ।
२. मोतिबिन्दुको असर बढेपछि चश्माबाट दृष्टिलाई ठीक पार्न सकिँदैन ।
३. मोतिबिन्दुमा सामान्यतः पीडा हुँदैन । मोतिबिन्दुको कारणले आँखामा पीडा तब हुन्छ, जब लामो समयसम्म पनि अपरेशन नहुँदा त्यो बढी पाक्छ र त्यसको खराब असर हुन थाल्छ या मोतिबिन्दु फुट्छ ।
४.पढ्न-लेख्नमा कठिनाइ र आँखाको सामुन्ने कालो धब्बा देखिन थाल्छ ।
५. कहिलेकाहीँ एक चीजको दुई देखिन थाल्छ ।
६. मोतिबिन्दु बढेपछि रंगहरूको पहिचानमा कठिनाइ हुनथाल्छ ।
७. मोतिबिन्दु बढेपछि हेर्नेहरूले त्यो व्यक्तिको आँखामा कालो तिलको ठाउँमा सेतो लेन्स देख्छ ।
कारण
उमेर बढ्दै गएपछि मोतिबिन्दु किन हुन्छ यो कुरा अहिलेसम्म प्रमाणको – साथ थाहा पाइएको छैन । यस विषयमा खोज जारी छ र चाँडोभन्दा चाँडो यसका सही कारणहरूको पत्ता लाग्नेछ र मोतिबिन्दु रोक्न सकिनेछ भन्ने आशा छ । मोतिबिन्दुका केही कारणहरू यस प्रकार छन् –
१. सूर्यको चर्को किरण
गर्मी देशहरूमा, जहाँ सूर्यको प्रकोप अधिक हुन्छ, मोतिबिन्दु अधिक हुन्छ । हाम्रो देशमा असी प्रतिशत जनता गाउँमा बस्छन् । खेती गर्नेहरूले चर्को घाममा काम गर्नुपर्छ । सूर्यको पराबैजनी (अल्ट्राभायलेट) किरणहरूले उनीहरूलाई अधिक हानि पुन्याउँछन् ।
२. पोषणको कमी
गरिब देशहरूमा खुराकमा पोषण तत्वहरूको कमीको कारणले विशेषगरी भिटामिनहरूको कमीबाट मोतिबिन्दु हुनसक्छ । यिनीहरूमा भिटामिन ‘सी’ प्रमुख छ । यसको अतिरिक्त कुनै अरू तत्वको कमी पनि यसको कारण हुनसक्छ । शहरहरूमा र सम्पन्न मानिसहरूमा पनि मोतिबिन्दु हुन्छ, जबकि उनीहरूसँग
राम्रो भोजन लिने सबै साधनहरू हुन्छन् । उनीहरूको भोजनमा सबै आवश्यक तत्वहरूको समन्वय र सन्तुलन नहुन पनि सक्छ ।
उमेर बढ्दै जाँदा धेरै भ्रान्तिहरूको कारणले मानिसहरूले आफ्नो भोजनमा धेरै चीजहरूको सेवन कम गरेको या साधनहरूको कमीको कारणले बाध्यतावश कटौती गरेको देखिएको छ । बच्चाहरूलाई बूढोहरू भन्दा बढी प्राथमिकता दिइन्छ ।
३. फ्रि रेडिकल्सको हानिकारक असर
शरीरको कार्यशैलीको प्रक्रियामा कोष्ठमा केही हानिकारक तत्वहरू, जसलाई ‘फ्रि रेडिकल्स’ भनिन्छ, बन्छन् । शरीरले यी तत्वहरूबाट बच्ने उपाय गर्छ, त्यही पनि यिनीहरूले क्षति गरिरहन्छन् । मोतिबिन्दुलाई पनि यिनीहरूकै प्रभाव मानिएको छ ।
४. जिन्सको असर
आफ्ना पूर्वजहरूबाट मिलेको जिन्सको प्रभावबाट पनि मोतिबिन्दु हुनसक्छ ।
रोकथामको उपाय
मोतिबिन्दु हुने कारणहरूको सही जानकारी नभएको हुँदा यसको रोकथामको विषयमा कुनै कुरा निश्चित रूपले भन्न सकिँदैन । त्यही पनि तल लेखिएका उपायहरूले शायद केही मानिसहरूमा मोतिबिन्दु रोक्नमा मद्दत गर्न सक्छन् या यी उपायहरूबाट मोतिबिन्दु ढिलो शुरू हुन्छ या बिस्तारै बिस्तारै अथवा ढिलो बढ्छ ।
१. घाममा लगाउने चश्माको प्रयोग गर्नुहोस् । युवावस्थादेखि नै दिउँसो बाहिर जाँदा घाममा लगाउने चश्मा लगाउनाले सूर्यका हानिकारक किरणहरूबाट आँखालाई बचाउन सकिन्छ ।
२. सन्तुलित आहार लिनुहोस्, जसमा अनाज, दाल, घीउ, तेलको साथ-साथै हरियो तरकारी अधिक मात्रामा होस् ।
३. फ्रि रेडिकल्सको असरलाई कम गर्नको लागि एन्टी अक्सिडेन्ट्स (Anti-Oxidant) अर्थात् अक्सिकरणलाई रोक्ने कारकहरूको प्रयोग गर्नुहोस् । भिटामिन ‘ए’, ‘ई’ र ‘सी’ लाई एन्टी अक्सिडेन्ट मानिन्छ । यी तीनैलाई मिलाएर कैयौँ नामबाट गोली र क्याप्सुल बनेका छन् । मोतिबिन्दुलाई रोक्नमा यिनीहरू कति प्रभावशाली छन् भन्ने विषयमा केही निश्चित छैन । यी एन्टी अक्सिडेन्ट्स हरियो तरकारीहरू जस्तै, पालक र फलफूलहरूमा निकै पाइन्छ ।
४. यदि मोतिबिन्दुको जीनको सही पहिचान गरेर ‘जेनेटिक इन्जिनियरिङ्ग’ बाट त्यसलाई परिवर्तन गर्न, हटाउन या ठीक गर्न सकिन्छ भने जिन्सको प्रभावबाट हुने मोतिबिन्दुलाई रोक्न सकिन्छ ।
उपचार
मोतिबिन्दुको उपचार अपरेशन हो । मोतिबिन्दुबाट प्रभावित भएको लेन्सलाई निकालेर त्यसको स्थानमा प्लास्टिक लेन्स लगाउने अपरेशन पछिल्लो दशकमा धेरै सफल साबित भएको छ । हर व्यक्तिको, चाहे ऊ जतिसुकै साधनहीन किन नहोस्, अपरेशन यो नयाँ विधिबाट नै गर्ने प्रयत्न हुनुपर्छ, तर अहिले यस्तो हुन सकिरहेको छैन । गरिबी र साधनहरूको कमीको कारणले लाखौं मानिसहरूको अपरेशन अहिले पनि पुरानो पद्धतिबाट भइरहेको छ ।
अहिलेसम्म गरिएका खोजहरू र शोधहरूबाट निकालिएको निष्कर्षबाट यदि मोतिबिन्दु भई नै सकेको छ भने त्यो कुनै औषधीले ठीक हुन सक्दैन भन्ने कुरा स्पष्ट भएको छ । त्यसको एक मात्र उपाय अपरेशन नै हो । होम्योपेथी, -आयुर्वेदिक, जडीबुटीहरू, एलोपेथी या कुनै पनि तरिका, औषधी या प्रक्रियाबाट न त यसलाई रोक्न सकिन्छ र न ठीक पार्न सकिन्छ ।
औषधीका कम्पनीहरू र कैयौं डाक्टरहरू तथा वैद्यहरू मानिसहरूलाई भ्रममा राखेर उनीहरूको पैसा र समय दुवै बर्बाद गरिदिन्छन् । यदि रोगीको मोतिबिन्दु प्राकृतिक कारणहरूबाट बढेको छैन भने उसको मोतिबिन्दु औषधिबाट रोकिएको हो भन्ने ऊ सोच्छ र अरूहरूलाई पनि यही भ्रममा पारिदिन्छ ।
सामान्य जानकारी
१. मोतिबिन्दु सबै देशहरूमा हुन्छ, चाहे ती देशहरू सम्पन्न हुन् या गरिब ।
२. हाम्रो देशमा मोतिबिन्दु बढी छ ।
३. गाउँमा शहरको अपेक्षा मोतिबिन्दु बढी हुन्छ ।
४. मोतिबिन्दु पुरुष र स्त्रीहरू दुवैमा हुन्छ ।
५. धेरै ज्यान लिने रोगहरूको रोकथाम भएको हुनाले मानिसहरूको सामान्य उमेर बढेको छ । पहिले जो मानिसहरू कम उमेरमा नै मृत्युको ग्रास हुन्थे, तिनीहरू अहिले लामो उमेरसम्म बाँच्छन् ।
६. वृद्धहरूको संख्या बढेको हुनाले मोतिबिन्दु पनि बढेको छ ।