शरीरको त कसरत हुन्छ। आँखाको पनि कसरत हुन्छ ? धेरैलाई अचम्म लाग्न सक्छ तर अब अचम्म मान्नुपर्ने अवस्था छैन । विश्वमा आँखाको कसरत प्रयोगमा आएको शताब्दीऔं भइसकेको छ तर पनि यसले वैज्ञानिक मान्यता प्राप्त गरेको भने करिब एक शताब्दी अघिबाट दृष्टि विज्ञानको प्रवेशसँगै हो ।
हालसालै गरीएको एक अध्यायन अनुशार धेरैजसो नेत्ररोग विशेषज्ञहरू आँखाको कसरतमा विश्वास राख्दैनन् । यसो हुनुमा उनीहरूको आँखाको व्यायामसम्बन्धी ज्ञान कम हुनु हो । हुन पनि उनीहरू आँखा रोग तथा तिनको अपरेसनमा व्यस्त हुने हुँदा यतातिर भुल्न पाउँदैनन् आँखाको कसरतका लागि त दृष्टि विशेषज्ञहरूले गहिरो अध्ययन, अनुसन्धान गरेका हुन्छन् । त्यसैले उनीहरूमा आवश्यक ज्ञान, तौरतरिकाहरू हुन्छन् ।
जब कुनै मानिस आँखाको समस्या लिएर दृष्टि विशेषज्ञकहाँ पुग्छन्, उसलाई विभिन्न किसिमका औषधिहरूको प्रयोग गर्न लगाइन्छ । त्यति मात्र होइन आवश्यकताअनुसार उसलाई चस्मा तथा कन्ट्याक्ट लेन्स प्रयोग गर्ने सुझाव दिइन्छ । धेरैजसोका समस्या त यति गरेपछि ठीक हुन्छन् । तर आँखाका त्यस्ता पनि समस्या हुन्छन् जुन औषधि, चस्मा, कन्ट्याक्ट लेन्स आदिको प्रयोगबाट पनि समाधान हुँदैनन् । यस्तो अवस्थामा आँखाको व्यायाम गर्नुपर्ने हुन सक्छ। आँखाको व्यायाम एक भौतिक-मनोवैज्ञानिक (Psycho-physiological) प्रोसेस हो जसमा आँखाको र ब्रेनको उत्तिकै भूमिका हुन्छ। आँखालाई ब्रेनको एक एक्स्टेन्सन ( Extension) भागको रूपमा नै लिइन्छ । आँखा र ब्रेनको भूबनोट, मिल्दाजुल्दा हुन्छन् । अनि आँखाको ब्रेनसँग डाइरेक्ट लिंक हुन्छ। यसले गर्दा आँखाको कसरतलाई सतही रूपमा लिइनुहुँदैन । जथाभावी आँखाको कसरतले पछि दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्छ।
शरीरको व्यायामले शरीरलाई फूर्तिलो र तन्दुरुस्त राखेझैँ आँखाको व्यायामले पनि आँखालाई तन्दुरुस्त राख्दछ। आँखाको कसरत पनि सुरुमा सरल किसिमको, छोटो समयको गरिन्छ भने, पछि बिस्तारै जटिलतातिर गइन्छ । निश्चित समयावधिमा गर्नुपर्ने कसरत थोरै गरेमा त्यति प्रभावकारी नै हुँदैन भने धेरै गरेमा आँखालाई तथा मानसिक भार पर्दछ। त्यस्तै आँखाको व्यायाम गर्न थालेपछि यसमा अनियमितता गर्नुहुँदैन । अनियमित व्यायामले पनि नकारात्मक असर गर्दछ। एउटै समस्यामा पनि उसको उमेर आँखाको अवस्था आदि हेरेर गर्नुपर्ने व्यायाम फरक-फरक हुनसक्छ भने एउटै मानिसमा पनि फरक-फरक समस्यामा फरक फरक व्यायामहरू गर्नुपर्ने हुनसक्छ। अतः दृष्टि विशेषज्ञको नियमित परामर्श तथा निगरानीमा मात्र व्यायाम गर्नु / गराउनु लाभदायी हुन्छ।
मुख्यतः आँखाका व्यायाम दुई किसिमका हुन्छन् । मानिसको सक्रिय सहभागितामा आवश्यक सरसामानहरूको प्रयोग गरेर गरिने सक्रिय आँखा व्यायाम हुन्। यी व्यायामहरू गर्दा राम्रोसँग बुझेर, ध्यान दिएर गर्नुपर्ने हुन्छ। अरू कुनैकुनै व्यायाममा भने सक्रिय सहभागिताको आवश्यकता हुँदैन । यिनीहरू लेन्स, प्रिज्म आदि प्रयोग गरेर गरिन्छ। कुनै-कुनै व्यायामहरू साधारण सामानहरूको प्रयोग गरेर आ आफ्नै घरमा गर्न पनि सकिन्छ । यस्ता व्यायामलाई Home Exercise भनिन्छ। त्यस्तै कुनै व्यायाम गर्दा दृष्टि विशेषज्ञको प्रत्यक्ष निगरानी आवश्यक हुने वा व्यायाममा प्रयोग हुने सामान महँगा हुने हुँदा अफिसमा मात्र सम्भव हुन्छ । कुनै व्यायाम छोटो अवधिका हुन्छन् भने अरू लामो समयसम्म पनि गरिरहनुपर्ने हुनसक्छन् ।
आँखाको व्यायाम गर्नुपर्ने अवस्थाहरू धेरै हुन्छन् । तर पनि मुख्य गरी यसलाई दुई किसिमले वर्गीकरण गर्न सकिन्छ । एउटा हो आँखाका मांसपेशीहरूको कमजोरीपन भने अर्को हो आँखाको अल्छीपन ।
आँखाको कामहरू राम्रोसँग सञ्चालन गर्नको निम्ति मुख्यतः दुई प्रकारका मांसपेशीहरूले गहन भूमिका खेलेका हुन्छन् । आँखा भित्र हुने सिलियरी मसल नामक मांसपेशी खुम्चने तथा तन्कने हुँदा आँखाको पावर नै घटबढ हुन्छ। दुरी अनुसार फरक फरक ठाँउमा हेर्दा फरक फरक पावर चाहिन्छ, जुन सिलियरी मसलले गर्दा मात्र सम्भव छ । यो मांसपेशीको कार्य बच्चा अवस्थामा निकै बढी हुन्छ त बुढ्यौलीम निकै कम हुन्छ। भनिन्छ सिलियरी मसलको कारणले एउटा भरखर जन्मेको बच्चाको आँखाको पावर करिब १८.० D सम्म घटबढ हुन सक्छ भने ५० वर्ष पछि उसको यो करीव १.० D मात्र हुन्छ। उमेरअनुसार फरक-फरक हुने यो सिलियरी मसलले राम्रोसँग काम गर्न नसकेमा पनि धेरै समस्याहरू आउन सक्छन् । मुख्य समस्या हुन्: धमिलो दृष्टि हुने, आँखा तथा टाउको दुख्ने तथा कुनै बेला आँखा बांगो हुने। यस्तो समस्यामा उपयुक्त व्यायाम गर्नाले समस्याबाट छुटकारा पाइन्छ ।
आवश्यकताअनुसार आँखालाई यताउता, तलमाथि चलाउन तथा दुईवटा आँखालाई सँगसँगै तथा मिलेर काम गराउनका लागि आँखाबाहिर आँखाको डल्लासँग टाँसिएर बसेका ६-६ वटा मांसपेशीहरू हुन्छन् । यी मांसपेशीको कारण टाउको नै नचलाईकन मानिस यताउता तलमाथि हेर्न सक्छ । कुनै-कुनै मान्छेमा जन्मँदाखेरी नै कुनै मांसपेशीहरू कमजोर भएका हुन्छन्। त्यस्तै कसैमा आँखामा चोटपटक तथा रोगको कारण तथा कसै-कसैमा त औषधि आदिहरूको साइडइफेक्टले गर्दा पनि कमजोरी हुन सक्छन् । यी आँखाका बाह्य मांसपेशीहरूमध्ये कुनै एक कमजोरी भएमा पनि आँखा आवश्यकताअनुसार चल्न नसक्ने हुन सक्छ । त्यस्तै आँखा बांगो पनि हुन सक्छ। एउटा आँखा एकातिर फर्केको हुन्छ भने अर्को आँखा अर्कोतिर । एउटा आँखाले बाबुलाई हेरेको हुन्छ त अर्कोले आमालाई । यसरी दुईवटा आँखाले सँगसँगै काम गर्न नसक्दा द्विनेत्र दृष्टि (Binocular Vision) मा गडबढी भई टाउको दुख्ने, दुईवटा देखिने, वाकवाकी लाग्ने आदि हुनसक्छ । यसको समाधानका लागि सक्रिय व्यायामहरू गर्नुपर्ने हुन्छ भने लेन्स, प्रिज्म, अक्लुडर आदि प्रयोग गरी निस्क्रिय व्यायामले पनि केही हदसम्म सजिलो बनाइदिन्छ। कुनै अवस्थामा त अझ अपरेसन नै गर्नुपर्ने पनि हुनसक्छ ।
आँखा विकास हुने समय विशेषगरी जन्मेको ८-९ वर्षभित्र विभिन्न बाधा व्यवधानहरू आई राम्रोसँग दृष्टि विकास हुन नपाएर आँखा बिस्तारै अल्छी बन्नसक्छ। अल्छी आँखामा दृष्टि पुनः ल्याउन सकिने उपाय भनेको एक मात्र आँखाको व्यायाम नै हो। यसका लागि दुवै सक्रिय तथा निस्क्रिय व्यायामको आवश्यकता पर्दछ। आँखा छोप्ने, लेन्स तथा कन्ट्याक्ट लेन्सको प्रयोग गर्ने आदि निस्क्रिय व्यायाम तथा विभिन्न किसिमका सरसामान तथा मेसिनहरू प्रयोग गरी सक्रिय किसिमको व्यायाम गराइन्छ बाल अवस्थामा मात्र सम्भव हुने अल्छी आँखाको उपचार अवधिलाई सक्रिय व्यायामले छोट्याइदिन्छन् ।
धेरै जसो आँखाका व्यायाम जुनै उमेरको मान्छेले पनि, जुन बेला पनि गर्न सक्छ । जसरी जिम गर्ने एउटा मान्छे आफ्नो उमेरभन्दा जवान देखिन्छ त्यस्तै व्यायाम गरेको आँखा पनि तन्दुरुस्त तथा तेजिलो हुन्छ । तर पनि विशेष गरी विद्यार्थीहरू, कम्प्युटरमा काम गर्ने मानिसहरू, खेलाडीहरू, गहना तथा डिजाइनसम्बन्धी काम गर्नेहरूमा बढी उपयोगी हुन्छभने बिहानीपख गरेको व्यायाम बढी प्रभावकारी हुन्छ। 10) आँखाको व्यायामको सफलता भनेको विशेष गरी सिकाउने दृष्टि विशेषज्ञ, गर्ने ” मान्छेको उमेर, जोस जाँगर, उत्सुकता, लगनशीलता तथा निरन्तरतामा भरपर्दछ ।
आँखाको कसरतसम्बन्धी विभिन्न गलत धारणाहरू पनि थुप्रै पाइन्छन्। कोही मान्छेहरू कसरत गरिसकेपछि बिस्तारै चस्माको पावर घट्दै जाने र पछि लगाउनु नै नपर्ने हुन्छ भन्ने ठान्दछन् भने अरूहरू आँखाको व्यायाम कुनै औषधि तथा अपरेसनको साटो गरिने भन्ने अवधारणा राख्दछन्। तर यो कुनै कुराको विकल्प भने होइन। पश्चिमा मुलुकहरूमा दृष्टि व्यायामको व्यापक प्रयोग भइरहेको पाइन्छ। स्कुल पढ्ने बालवालिका देखी लिएर अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूले यसबाट फाइदा लुटिसकेका छन्। आशा गरौं विस्तारै नेपालीहरू पनि यसको फाइदा लिन पछि पर्ने छैनन् ।
विभिन्न कारणहरूले गर्दा मानिसहरूले आँखाको व्यायाम गर्न चाहेर पनि निरन्तरता दिन सकिरहेका हुँदैनन् । यसको प्रमुख कारण हो याठ मान्नु सधैभरि दिनदिनै एउटै व्यायाम गरिराख्दा झ्याउ लाग्नु स्वाभाविकै हो । तर पनि दृष्टि विशेषज्ञको निगरानीमा फरक-फरक किसिमका व्यायामहरू गर्ने तथा एउटै व्यायामलाई पनि विभिन्न तरिकाले अनि आकर्षक किसिमले गर्न सकिन्छ। त्यस्तै कुनै – कुनै व्यायाम गर्दा अप्ठ्यारो पनि हुन सक्छ । तर पनि बिस्तारै बानी पर्दै गएपछि सजिलो लाग्दछ। तर पनि आँखाको कसरतलाई निरन्तरता दिन नसक्नुको मुख्य कारण हो आर्थिक समस्या तथा विशेषज्ञको अभाव । कुनै-कुनै व्यायाममा महँगा सरसामानहरू चाहिने तथा विशेषज्ञको निगरानीमा मात्र गर्नुपर्ने हुँदा यस्ता किसिमका व्यायामहरू क्लिनिक तथा विशेषज्ञकहाँ मात्र गर्न सम्भव हुन्छन् । यस्ता व्यायामलाई निरन्तरता दिन अति गाह्रो हुन्छ ।
महँगा सामानहरू प्रयोग गर्नुपर्ने, विशेषज्ञको निगरानीमा गर्नुपर्ने केही व्यायाममा बाहेक धेरैजसो साधारण किसिमका हुन्छन् । पेन्सिल, डोरी, केही पावर भएका लेन्स, प्रिज्म आदिको प्रयोगले कैयौं किसिमका व्यायाम गर्न सकिन्छ । अझ कुनै व्यायामलाई त कुनै सरसामान पनि चाहिँदैनन् । साथीसँग कुरा गर्दागर्दै, गाडी स्टपमा गाडी पखिँदापर्खिदै वा हिंड्दाहिंड्दै पनि गर्न सकिने आँखाका व्यायामहरू पनि हुन्छन् ।
कुनै अवस्थामा दशौं डाक्टरलाई देखाएर अनि थुप्रै औषधि सेवन, X-ray, CT Scan. MRI आदिमा हजारौं रुपैयाँको खर्च आदि गरेर पनि कम नभएको टाउको दुखाइ केवल एकछिनको पेन्सिल वा डोरीको प्रयोगबाट ठीक भएकाहरूले बुझ्दछन् आँखाको व्यायामको महत्त्व राम्रोसँग । तर पनि अन्धाधुन्द रूपमा व्यायाम गर्छु भनेर आँखा यताउता चलाउन मिच्ने आदि गर्नाले भने नकारात्मक असर पनि पार्न सक्छ । राम्रोसँग गरेको दृष्टि व्यायामले कुनै पनि साइडइफेक्ट गराउँदैन। मानिस यसलाई खेल खेलेजस्तो रूपमा लिएर आनन्द साथ गर्न सक्दछ । यसरी राम्रोसँग बुझेर, निश्चित विधि अपनाएर दृष्टि व्यायामलाई एक अत्यावश्यक दैनिक क्याप्सुलको रूपमा लिन सकिन्छ ।