यो रोग धेरै जसो पहाडी भेगका वालवालिकामा एक वर्ष विराएर प्राय असोज देखि मंसिर महिना सम्म महामारीको रुपमा देखा पर्ने गर्दछ तर अरु समयमा पनि यो रोग फाट्टफुट्ट देखिन्छ । एउटा आँखा अचानक रातो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, आँखाको कालो भागको बीच भागमा सेतो देखिनु अत्यन्तै छोटो समयमा ज्योति ज्यादै कम हुदैजानु, दुखाई त्यति धेरै नहुनु तथा झट्ट हेर्दा साधारण आँखा पाकेको रोग जस्तो देखिएता पनि चिप्प्रा पटक्कै नआउनु, अथवा शुरुवातमा थोरै मात्र चिप्रा आउनु यस रोगका मुख्य लक्षणहरु हुन् । यो रोग लागेको आँखाको भित्रि भागहरुमा संक्रमण भएर (पाकेर) आँखा भित्र पीप भरिन्छ ।
यो रोगको निदान छिटो भन्दा छिटो भई शल्यक्रिया गरिएमा आँखाको ज्योति पुर्ण अथवा आंशिक रुपमा फर्किने छ, तर निदान तथा उपचार ढिलो भएमा ज्योति गुम्नुको साथै आँखा नै सुकेर जाने गर्छ । यस्ता लक्षणहरु देखिएमा छिटो भन्दा छिटो नजिकैको आँखा उपचार केन्द्रमा सम्पर्क राख्नु पर्दछ । शापु रोगीको आँखामा किटाणुको संक्रमण कुन माध्यमबाट हुन्छ भन्ने कुराको यकिन नभएता पनि कसै कसैमा बत्तिमा आउने सेतो पुतली (Moth) आँखाको सम्पर्कमा आएपछि यो रोग लागेको देखिएको छ। त्यसैले यस्ता पुतलीको सम्र्पकबाट बालबालिकाहरुलाई टाढा राख्न सल्लाह दिनु पर्दछ । झुल हालेर सुत्दा राति किराहरु आँखामा पर्ने सम्भावना पनि कम हुन्छ ।