टेडो / छड्के (Squint) आँखा

Academy Education Entrance Eye Health Innovations License Lifestyle Magazine News Optometry In Nepal Policy for Eye health Program Tech Travel Webinars

साधारणतया मानिसका दुईवटा आँखाले सँगसँगै मिलेर काम गर्ने गर्दछन्। कुनै पनि एउटा वस्तुलाई हेर्नुपन्यो भने दुईवटै आँखाका दृष्टि रेखाहरू त्यही वस्तुमा गएर काटिन्छन् । त्यस्तै टाढाको वस्तुलाई हेर्दा ती दुई दृष्टिरेखाहरू समानान्तर बनेर गएका हुन्छन् । तर कुनै कारणबस टाढाको वस्तुलाई हेर्दा पनि दुई दृष्टिरेखाहरू समानान्तर नभई भित्र वा बाहिर तथा तलमाथि मोडिने हुनसक्छन्। जसले गर्दा आँखा बांगो देखिन्छ, यसलाई टेडो / छड्के (Squint) आँखा भनिन्छ । करिब ८ प्रतिशत मानिसहरूमा पाइने यो समस्या धेरैजस्तो बच्चाहरूमा नै हुने गर्दछ। अतः धेरै बच्चाहरूले टेडो आँखाको कारण दृष्टि गुमाउनुपरेको छ । दृष्टि ह्रास त भइनै हाल्यो सौन्दर्यको समस्याले समेत पिरोलिइएका हुन्छन् । यिनीहरू एउटा आँखा एकातर्फ फर्किएको हुन्छ त अर्को अर्कातर्फ हेर्दाखेरि नै नराम्रो देखिन्छ ।

कुनैकुनै मानिसमा Pseudo-squint देखिन्छ। यिनीहरूमा वास्तवमा आँखा बांगो नभए पनि अनुहारको आकार प्रकार, नाकको बनोट आदिको कारणले गर्दा बांगो देखिन्छ। यस्ता आँखाको दृष्टिमा कुनै ह्रास आउँदैन, दुवै आँखाले राम्रोसँग काम गरिराखेका हुन्छन् ।

हामीहरूले दायाँबायाँ यताउता हेर्दा टाउको पनि त्यतै लैजानुपर्दैन अथवा आँखा मात्र घुमाएर पनि हामीले वरिपरिका कुराहरू देख्न सक्दछौं। यसरी आँखालाई यताउता तलमाथि चलाउने आँखा वरिपरि ६ वटा मांसपेशीहरू हुन्छन्। यी मांसपेशीहरूले निकै ब्यालेन्स तथा Equilibrium अवस्थामा काम गरका हुन्छन्। हुने भएमा त्यस्तै यिनीहरूलाई चलाउने पनि विभिन्न निकै सेन्सिटिभ स्नायुहरू हुन्छन् । यी स्नायुहरूमा वा मांसपेशीहरूमा अलिकति पनि खराबी भएमा आँखाहरू बागो गर्दछन्। त्यसैले मांसपेशीहरू वा स्नायुमा घाउ, चोटपटक, इन्फेक्सन आदि पनि आँखा टेडो हुन सक्छ । त्यति मात्र होइन अनुहारको आकार-प्रकार आदिले पनि आँखा बांगो देखिनसक्छ। कतिमा त वंशानुगतगुण अनुसार पनि टेडो आँखा भेट्टाइन्छ । धमिलो दृष्टि भएर पनि कुनैकुनै अवस्थामा आँखा Squint हुन सक्छ। आँखाका अरू समस्याहरू जस्तै मोतिबिन्दुजस्ता समस्याहरू भएमा पनि आँखा बिस्तारै दायाँबायाँ तलमाथि मोडिन बेर लाग्दैन ।

छड्के आँखा विशेषज्ञका अनुसार टेडो आँखा धेरै प्रकारका हुन्छन् । अझ भन्दाखेरि कुनै पनि अवस्थामा आँखा बांगो नहुने मान्छे त विरलै हुन्छन् । धेरैजसोमा नदेखिने किसिमको बांगो आँखा हुन्छन् । त्यस अवस्थामा एक आँखाले मात्र हेर्नुपदा अर्को आँखा बांगो भइदिन्छ अन्यथा बलपूर्वक आँखा सिधा नै हुन्छन् । यस्तो किसिमको बांगो आँखालाई Heterophoria /Latent Strabismus भनिन्छ। त्यस्तै कुनै-कुनै मानिसमा आँखा थाकेको बेलामा धेरै बांगो हुने तर अन्य अवस्थामा अलअलि मात्र बांगो देखिन्छ। अझ कुनै दिशामा त आँखा सिधा पनि हुन सक्छ। अझ अनौठा-अनौठा किसिमका टेडो आँखा पनि पाइन्छन्। कुनै मान्छेमा तलतिर हेदा आँखा बढी बांगो हुने भने माथि हेर्दा कम वा यसको उल्टो पनि हुन सक्छन् । नजिक वा टाढा हेर्दा फरक-फरक मात्राको बांगोपना पनि हुन सक्छ।

सामान्य रूपमा टेढो आँखामा देखिने संकेत भनेको त आँखा सोझो नदेखिनु नै हो। टेडो आँखा भनेको सुन्दरताको त पर्खाल नै हो । एउटा आँखाले एकातर्फ हेर्दा अर्कोले अर्कैतर्फ हेरेकोजस्तो देखिन्छ। यो त कस्मेटिक समस्या मात्र न हो, अझ मुख्य समस्या त दृष्टिनाश नै हो । दृष्टिहास टेडो आँखाको विभिन्न कुरामा भर पर्दछ। नदेखिने किसिमको Squint मा दृष्टि ह्रास हुँदैन । त्यस्तै कहिले एउटा आँखा त कहिले अर्को आँखा गरी पालैपालोसँग आँखा बांगो हुने गर्दछन् भने पनि त्यति दृष्टिहास हुँदैन । एउटा आँखामात्र सधैँ बांगो हुन्छ भने त्यस अवस्थामा निकै दृष्टिहास भएको हुन्छ। टेडो आँखा हुने मान्छेको Stereoscopic Vision (3D) हुँदैन जसले गर्दा उसले कुनै पनि वस्तुको दूरी, गति तथा गहिराइ ठिक सँग थाहा पाउन सक्दैन। त्यसैले गाडी चलाउँदा, बाटो काट्दा आदि कामहरू गर्दा निकै होसियारी रहनुपर्छ ।

टाउको दुख्ने, थकान बढ्नेजस्ता समस्याहरू पनि हुनसक्छन् टेडो आँखा हुनेहरूमा। त्यति मात्र होइन, आँखाका मांसपेशीहरू प्यारालाइसिस भएर Squint भएमा एउटै वस्तुलाई हेर्दा पनि दुईवटा देखिने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने आदि पनि हुनसक्छ । यस्ता मान्छेहरूले सजिलोको लागि टाउको कोल्टाउने, चिउँडो उठाउने आदि पनि गर्न सक्छन् ।

समयमा नै सावधानी भएर बेलैमा उपचार गराउने हो भने टेडो आँखा त्यति ठूलो समस्या होइन। तर पनि पछि आफैँ ठीक हुन्छ भन्ने सोचेर उपचारमा आलटाल गरेमा भने दृष्टिहास भई पछुताउनुबाहेक अरू केही रहँदैन । त्यसकारण टेडो आँखाको तत्काल उपचार अत्यावश्यक हुन्छ । अझ बच्चाहरूमा त झनै यसमा कन्जुस्याइँ गर्नु नै हुँदैन । बच्चाबेलामा नै उपचार नगरे ह्रास भइसकेको दृष्टि कुनै हालतमा पनि फर्कदैन । अतः आँखा बांगो छ भनेर थाहा भएमा वा शंका मात्र नै भएमा पनि तुरुन्त दृष्टि विशेषज्ञ वा आँखा विशेषज्ञलाई देखाउनुपर्दछ।

टेडो आँखाको उपचारको उद्देश्य- आँखालाई सिधा बनाउनु नै हो । तर पनि मुख्य उद्देश्य त दृष्टिलाई ह्रास हुन नदिनु वा ह्रास भइसके पनि पुनः दृष्टि फर्काउनु हो। आँखालाई सीधा पार्नु त त्यति ठूलो कुरा होइन, जुन उमेरमा पनि गर्न सकिन्छ । तर दृष्टि ह्रास भइसकेको छ भने पुनः दृष्टि ल्याउन बाल्य अवस्थामा नै उपचार गर्नुपर्छ, किनभने टेडो आँखाको कारणले आँखा अल्छी बनेर दृष्टि ह्रास हुन सक्छ । यसको उपचारको सुरुआत सर्वप्रथम त दृष्टि कमजोरीको समाधान गरेर नै गरिन्छ । दृष्टि कमजोरी समाधान गर्न बिरामीको अवस्था आदि हेरेर चस्मा, कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुपर्दछ । अनि अपरेसन गरेर वा अपरेसन नगरीकनै पनि यसको उपचार गरिन्छ ।

थोरै मात्रामा आँखा टेडो भएको अवस्थामा यसको उपचार अपरेसनबिना नै गर्न सकिन्छ । अझ कुनै-कुनै अवस्थामा त आवश्यक पावरको चस्मा लगाउँदैमा सीधा भइहाल्छ । अन्य अवस्थामा पनि विशेष किसिमका प्रिज्म भएका चस्माहरू लगाएर तथा आँखाका व्यायामहरू गरेर आँखा सीधा पार्न सकिन्छ । अपरेसन नै गर्नुपरे पनि सामान्य किसिमको, कम खर्चालु तवरले आँखा सीधा पार्न सकिन्छ। आँखा मात्र सीधा पार्न त, न उमेरले छेक्छ न बैंसले । अझ एकपटक सीधा बनाएको आँखा फेरि बांगो भयो भने अर्कोपटक अपरेसन गरेर पनि सीधा पार्न सकिन्छ । उमेर ढल्केपछि सीधा गरेर ह्रास भइसकेको दृष्टि भने फर्कन सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *