लेखक:- कपिल गौतम दृष्टि विशेषज्ञ
अहिले नेपालमा प्रि–मनसुन सुरु भएको छ । यो समयमा हावाहुरी र चट्याङसँगै पानी पर्ने हुन्छ । हावाहुरी चल्ने सिलसिला जेठ महिनाभरि नै जारी रहन्छ । हावाहुरीको समयमा अन्य विविध समस्यासँगै आँखासम्बन्धी रोगको समस्या पनि प्रमुख रूपमा अगाडि आउँछ ।
हावाका कारण गाउँघरमा बोटविरुवामा भएका पराकण र सहर बजारमा धुलो धुवाँका कारण आँखासम्बन्धी रोगहरू लाग्ने सम्भावना बढी हुन्छ ।
हावामा विशेष गरी कार्बन मोनोअक्साइड, नाइट्रोजन अक्साइड, कार्बनडाइ अक्साइड र लेड (सिसा) जस्ता आँखाका लागि हानिकारक पदार्थहरू पाइन्छन् । यससँगै यो मौसममा हावामा ढुंगाका स–साना कणहरू पनि हुन्छन् । जसका कारण आँखामा विभिन्न किसिमका समस्याहरू देखिन्छन् ।
यस समयमा आँखामा हुने प्रमुख समस्याहरूः
आँखा पाक्ने : ढुंगाका कण तथा अन्य धातुका टुक्रा आँखामा परेको खण्डमा आँखामा बढी पीडा हुन्छ र बारम्बार आँखा झिम्काउँदा आँखा पाक्ने समस्या हुन्छ ।
एलर्जी हुने : हाम्रो आँखा धेरै संवेदनशील अंग हो । आँखामा धुलो तथा पराकण वा धातु परेमा आँखाले सहन गर्न सक्दैन र आँखाको एलर्जी हुने सम्भावना हुन्छ ।
आँखा सुख्खा हुने : आँखामा धुलो तथा पराकण पसेर आँसुको सन्तुलनमा असर पर्न गई आँखा सुख्खा हुन्छ । हावाले आँसु उडाएर लाने, घामको विकिरणले आँसु पातलो बनाउने हुनाले पनि आँखाको सुख्खापन बढ्छ ।
जसका कारण आँखामा घाउ हुने, आँखाको ढकनी सुन्निने जस्ता समस्या देखिन सक्छ ।
यो मौसममा आँखाको सुरक्षा कसरी गर्ने ?
बिहान दिउँसो, बेलुका सफा पानीले राम्ररी मुख धुने ।
बाहिर धुलोधुवाँ भएका ठाउँमा जाँदा अनिवार्य चस्माको प्रयोग गर्ने
बाहिरबाट घर फर्किएपछि सफा पानीले मुख धुने
आँखामा समस्या आएमा औषधिको प्रयोग गर्ने
आँखा बिझाएमा एउटा भाँडोमा सफा पानी राखेर त्यसमा आँखासहित मुख डुबाएर दायाँ बायाँ तल माथि हेर्ने
यदि २ दिनभन्दा बढी समयसम्म समस्या ठिक नभएमा तुरुन्त नजिकैको आँखा उपचार केन्द्रमा गई डाक्टरलाई देखाउने ।